मुख्य सामग्रीमा जानुहोस्

म यो संसारमा मिल्दिनँ

A man hiding his face with fists

“म जे गरे पनि, म एक बाहिरिया नै हुँ। दिनदिनै यो कुरा पक्का हुँदै जान्छ कि मलाई कसैले मन पराउँदैन, मेरो कसैलाई आवश्यकता छैन। आफ्नो करियरमा आकाश छोएका, मुस्कुराउँदा परिवार र आफूलाई सम्मान गर्ने सहकर्मी भएका मानिसहरूका बीचमा म दुःखी महसुस गर्छु। म नमिल्ने यो संसारमा वरिपरिका यी खुसी अनुहारहरू म अब सहन सक्दिनँ…” – के यो भावना तपाईंलाई परिचित लाग्छ?

तपाईं एक्लै हुनुहुन्न। तपाईंजस्तै हामी लाखौँ छौँ। हामीमध्ये धेरै यो संसारका होइनौँ।

“यदि संसारले तिमीहरूलाई घृणा गर्‍यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
( यूहन्‍ना 15:18-19 )

यो संसारले हामीलाई के दिन्छ? आफू महत्त्वपूर्ण र विशेष भएको अनुभूति, पैसा कमाउने, गाडी र ठूलो घर किन्ने क्षमता? साथीहरूबाट प्रशंसा, जसले तिनीहरूका बीचमा तपाईंको स्वीकार्यता र विशेष स्थान पक्का गर्छ? वा अरूभन्दा राम्रो भएको अनुभूति? सायद अरूबाट सेवा पाउने आनन्द? वा किनेर खेल्न मिल्ने यी सबै उपकरणहरू मात्र? वा संसारको प्रस्ताव एउटा ठूलो कम्पनीमा जागिर हो, जहाँ तपाईं अरूलाई आफ्नो करियर बनाउन सहयोग गर्न, आफ्ना मातहतका कर्मचारीहरूलाई बढुवा दिएर वा तिनीहरूका प्राविधिक चुनौतीहरूमा सहयोग गरेर आफ्नो उदारता देखाउन सक्नुहुन्छ? पहिलो दर्जामा हवाईयात्रा गर्नु र व्यापारिक सम्मेलनहरू सञ्चालन गर्नु? महँगा रेस्टुरेन्टहरूमा खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा राख्नु?

अचम्मको छ, होइन र? कसलाई यो चाहिँदैन होला? हो, साँच्चै, इमानदार बनौँ र यसलाई इन्कार नगरौँ – यो आकर्षक सुनिन्छ! तर ढिलोचाँडो हामी बुझ्नेछौँ कि यो संसारका कुनै पनि प्रस्तावले हाम्रो भित्रको खालीपन र एक्लोपन भर्न सक्दैन। तब हामीले वर्षौंसम्म संसारको पछि लागेर, त्यो नक्कली खजानाको लालसामा दौडेर ठगिएको महसुस गर्नेछौँ, र अहिले मात्र बुझ्नेछौँ कि त्यति लामो समयसम्म हामीलाई यति मूल्यवान् लागेको साथीहरूको प्रशंसा मुकुण्डो लगाएको ईर्ष्या र घृणाबाहेक अरू केही होइन रहेछ।

जब येशू पृथ्वीमा आउनुभयो र मानिसहरूलाई स्वतन्त्रता दिनुभयो, धेरैले उहाँमाथि विश्‍वास गरे, तर कसैले पनि खुलेआम त्यो स्वीकार गर्ने साहस गरेनन्,

किनकि परमेश्‍वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए।
( यूहन्‍ना 12:43 )

हामी यहाँ छौँ, मानिसहरूको प्रशंसा र स्वीकार्यतामा बाँधिएका। सुनको पिँजडामा थुनिएका स्वतन्त्र चराहरू। चारोमा लोभिएको माछा। अरूको विचारको डरले बाँधिएका…

मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
( हितोपदेश 29:25 )

हो, हामीले यो संसारमा मिल्ने कोसिस गर्नु पर्दैन। हाम्रो प्राणलाई थकाउने र हृदयलाई रित्याउने यो संसारका मूल्यहरूको चाहनाको पछि लाग्नु पर्दैन। जसरी प्लास्टिकका गहना साँचो हीराको बराबरी कहिल्यै गर्न सक्दैनन्, त्यसरी नै यो संसारका प्रस्तावहरूले हाम्रो हृदयको खालीपन कहिल्यै भर्न सक्दैनन्। यसले हामीले महसुस गर्ने तिर्खा कहिल्यै मेटाउँदैन।

संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
( 1 यूहन्‍ना 2:15 )

साँचो प्रेम, साँचो ज्ञान र जीवनतर्फको साँचो मार्गको एउटा स्रोत छ – पानीको यस्तो स्रोत, जसबाट पिएपछि हामी फेरि कहिल्यै तिर्खाउँदैनौँ।

तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।”
( यूहन्‍ना 4:14 )

तपाईं येशू ख्रीष्टलाई चिन्नुहुन्छ वा चिन्नुहुन्न होला (यद्यपि तपाईंले यो नाउँ सम्भवतः सुन्नुभएको छ), उहाँ को हुनुहुन्छ र कहाँबाट हुनुहुन्छ। तर एउटा कुरा हामी तुरुन्तै देख्न सक्छौँ – उहाँ यो संसारको हुनुहुन्न।

मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।
( यूहन्‍ना 17:14 )

अनि यो संसारले दिने कुराहरू उहाँ स्वीकार गर्नुहुन्न।

फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो, अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।” त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”
( मत्ती 4:8-10 )

जब हामी आफूलाई बेकम्मा, त्यागिएको, रित्तो, यो संसारको नभएको महसुस गर्छौँ, तब हामी येशूले दिनुहुने पानी पिउन सक्छौँ। त्यसले हामीलाई आवश्यक ज्ञान दिनेछ, ताकि हामी फेरि कहिल्यै तिर्खाउने छैनौँ। उहाँ नै त्यो सही मार्ग पनि हुनुहुन्छ, जसले मानिसहरूले जीवनभर खोजिरहेको साँचो खजानातर्फ डोर्‍याउँछ।

येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
( यूहन्‍ना 14:6 )

आफू विशेष भएको, आफू जस्तो छ त्यस्तै रूपमा प्रेम गरिएको महसुस गर्ने आवश्यकता हामी सबैमा हुनु स्वाभाविक हो। हामी परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएका छौँ भनी सबैलाई थाहा छ। तर परमेश्‍वरको दृष्टिमा हामी कति विशेष छौँ भन्ने कुरा हामी सजिलै बिर्सन्छौँ।

मेरो दृष्‍टिमा तँ बहुमूल्य र आदरणीय छस्; अनि मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।
( यशैया 43:4 )

हामीमा अझै पनि आफ्नो जीवनमा केही उपयोगी काम गर्ने र बेकम्मा भएको भावनाबाट छुटकारा पाउने तीव्र इच्छा हुन सक्छ। त्यसका लागि हामीले बुझ्नुपर्छ कि हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भेटिनु हो… हाम्रा स्वर्गीय पिताले हराएको भेडा, तपाईंलाई भेट्टाउनका लागि अरू सबैलाई छोडिदिनुहुनेछ…

म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।
( मत्ती 18:13 )

आउनुहोस्, भित्र गहिराइमा हेरौँ र बेकम्मा भएको यो बेचैन भावना कहाँबाट आउँदैछ र यसले हामीलाई कतातर्फ डोर्‍याउँदैछ, बुझौँ। यदि यो भावनाले हामीलाई मानिसहरूको स्वीकार्यता वा प्रशंसा खोज्न लगाउँछ भने, त्यसलाई आफूमाथि हावी हुन दिनुअघि दुई पटक सोच्नुहोस्। तर यदि तपाईंले महसुस गरिरहेको कुरा परमेश्‍वरप्रतिको प्रेम वा खाँचोको बेला तपाईंले सहायता गर्न सक्ने अरूहरूप्रतिको प्रेमबाट प्रेरित छ भने, अगाडि बढ्नुहोस्! किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ, र तपाईंका लागि उहाँसँग एउटा योजना छ।

किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। “ती योजनाहरू तिमीहरूका उन्‍नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
( यर्मिया 29:11 )

यदि परमेश्‍वरले तपाईंका लागि के योजना राख्नुभएको छ भनी तपाईं अझै निश्‍चित हुनुहुन्न भने, केवल प्रार्थना गर्नुहोस्… अनि वरिपरि हेर्नुहोस्। सायद तपाईं पहिले नै सही मार्गमा हुनुहुन्छ कि?

शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
( यूहन्‍ना 14:27 )