मुख्य सामग्रीमा जानुहोस्

के मेरो उद्धार भएको छ?

Opened bible on "Genesis" page

मानिसहरूलाई प्रायः तिम्रो उद्धार भएको छ कि छैन भनेर सोधिन्छ, वा उनीहरू आफ्नो उद्धारको विषयमा चिन्तित हुन्छन् वा मृत्युदेखि डराउँछन्।

सुरुमा परमेश्‍वरले हामीलाई अदनको बगैँचामा उहाँसँगै रहन सृष्टि गर्नुभयो। तर हव्वा र आदमले निषेध गरिएको फल खाए, र यसरी हाम्रो जीवनमा पाप प्रवेश गर्‍यो। अनि पापले हामीलाई परमेश्‍वरबाट अलग गर्छ। परमेश्‍वरबिना जीवन छैन। पापले मृत्यु ल्याउँछ…

तर तिमीहरूका अपराधहरूले तिमीहरूलाई आफ्ना परमेश्‍वरबाट अलग गरेका छन्; तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ, त्यसैकारण उहाँले सुन्‍नुहुन्‍न।
( यशैया 59:2 )
मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो।
( 1 कोरिन्थी 15:56 )

अनि पाप नगर्नेहरूको के हुन्छ?

यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन।
( 1 यूहन्‍ना 1:8 )
वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन।
( उपदेशक 7:20 )

परमेश्‍वरबाट अलग हुनुको अर्थ के हो?

जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्‍टहरूले तिनीहरूको दुष्‍टताको परिणाम पाउनेछन्।
( इजकिएल 18:20 )

परमेश्‍वर ज्योति हुनुहुन्छ, परमेश्‍वर प्रेम हुनुहुन्छ, परमेश्‍वर जीवन हुनुहुन्छ। परमेश्‍वरबाट अलग हुनु भनेको जीवनबाट अलग हुनु हो। यो कुरा हामी तलका पदहरूबाट देख्न सक्छौँ।

उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
( यूहन्‍ना 1:4-5 )
यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।
( 1 यूहन्‍ना 1:5 )
परमेश्‍वरको आत्माले मलाई बनाउनुभएको हो; सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्छ।
( इयोब 33:4 )
अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ। परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ।
( 1 यूहन्‍ना 4:16 )

हामी कसरी फेरि परमेश्‍वरसँग मिल्न र अनन्त जीवन पाउन सक्छौँ?

यदि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र हामी पृथ्वीमा छौँ भने, परमेश्‍वरसम्म पुग्न र फेरि उहाँसँग मिल्न हामी के गर्न सक्छौँ?

स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा गएको छैन।
( यूहन्‍ना 3:13 )
“जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्‍च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्‍च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्‍नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्। किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्‍वरकै वचन बोल्दछ। किनकि परमेश्‍वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ।
( यूहन्‍ना 3:31-32,34 )

येशू ख्रीष्ट स्वर्गबाट तल आउनुभयो; उद्धारको बारेमा उहाँ के भन्नुहुन्छ?

किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो।
( यूहन्‍ना 3:16-17 )

त्यसो भए, अनन्त जीवन पाउन हामीले परमेश्‍वरका पुत्रमाथि विश्‍वास गरे मात्र पुग्छ? हामीले पाप गरेका भए पनि? हाम्रो न्याय कसरी गरिनेछ?

जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाममा विश्‍वास गरेको छैन।
( यूहन्‍ना 3:18 )
“म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
( यूहन्‍ना 5:24 )

हाम्रा पिता परमेश्‍वरसँग फेरि मिल्ने अरू कुनै उपायहरू छन् कि?

येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
( यूहन्‍ना 14:6 )

परमेश्‍वर र येशू ख्रीष्टमाथि विश्‍वास गर्नुको अर्थ के हो?

येशू ख्रीष्टमाथि विश्‍वास गर्न तपाईंले उहाँको नाउँभन्दा बढी उहाँको बारेमा जान्नुपर्छ। सम्पूर्ण बाइबल पढ्नु राम्रो हुन्छ, किनकि पूरा कथा नजानी स्पष्ट चित्र पाउन असम्भव छ। पुरानो करारमा मसीह र इस्राएल, यहूदिया तथा बाँकी संसारमा उहाँको भूमिकाको बारेमा तपाईंले पढ्नुपर्छ। त्यसपछि नयाँ करारमा येशूको कथा पढ्नुहोस् र उहाँ नै मसीह, अभिषिक्त जन, हुनुहुन्छ भनी तपाईं विश्‍वास गर्नुहुन्छ कि गर्नुहुन्न भनेर आफैँ निर्णय गर्नुहोस्। सुरु गर्नका लागि यहाँ केही पदहरू छन्।

येशू ख्रीष्ट र परमेश्‍वरबीच के सम्बन्ध छ?

ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ। किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा बास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो।
( कलस्सी 1:15,19 )
परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।
( 2 कोरिन्थी 4:4 )

यस विषयमा येशू ख्रीष्ट आफैँ के भन्नुहुन्छ?

येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ?
( यूहन्‍ना 14:9 )
जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ।
( यूहन्‍ना 12:45 )

अनि येशूको बारेमा अरू केही पदहरू…

पुत्रचाहिँ परमेश्‍वरको महिमाको चमक र उहाँ परमेश्‍वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
( हिब्रूहरू 1:3 )
वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
( यूहन्‍ना 1:14 )

निष्कर्ष

अब तपाईं उद्धारको बारेमा अझ बढी जान्नुहुन्छ। तैपनि, यदि तपाईंको उद्धार भएको छ कि छैन भनेर अझै चिन्ता लाग्छ भने, तपाईंले निम्न कुरा जान्नु आवश्यक छ।

किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ।
( मत्ती 16:25 )

अब, उद्धारको बारेमा चिन्ता गर्नुको सट्टा सुसमाचार, अर्थात् पुत्र येशू ख्रीष्टद्वारा प्रकट भएको परमेश्‍वरको साँचो स्वरूप, बुझ्नमा ध्यान दिनुहोस्। अनि उहाँलाई पछ्याउनुहोस्। बाँकी कुराको हेरचाह येशूले गर्नुहुनेछ।

तर पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
( मत्ती 6:33 )