महामारीप्रति ख्रीष्टियन प्रतिक्रिया के हो?
एउटा अनियन्त्रित भाइरस ठूलो आँधीझैँ महादेशहरू पार गर्दै हाम्रो वरिपरिका मानिसहरूलाई संक्रमित गरिरहेको छ। हामीमध्ये कतिपयको यसले जागिर खोसेको छ, र हामीले माया गरेका मानिसहरूको ज्यान लिएको छ। जसको कुनै उपचार छैन, त्यस्तो भाइरसको सामु हामी निराश महसुस गर्छौँ। आँधीबेहरीको बीचमा सानो डुङ्गामा बगिरहेझैँ हामीलाई लाग्छ।
त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। येशूचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्न?” उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?”( मर्कूस 4:37-40 )
यस संसारको अनुभवको आधारमा आफ्नो आत्मविश्वास निर्माण गर्नु हाम्रो लागि स्वाभाविक हो। जब कुराहरू हामीले अपेक्षा गरेझैँ हुन्छन्, हामी ढुक्क र खुसी हुन्छौँ। जब सानोतिनो समस्या आउँछ, हामी त्यसलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास गर्छौँ। हामीलाई सुखद जीवन दिने औद्योगिक प्रगति, र कुराहरू कसरी काम गर्छन् भनी व्याख्या गर्ने अनि सबै रोगका लागि खोप विकास गर्ने वैज्ञानिक खोजहरूसँगै हाम्रो आत्मविश्वास बढ्दै गइरहेको छ। तर हाम्रो विश्वासको जग अत्यन्तै कमजोर छ, र केही असामान्य घट्नेबित्तिकै यो चाँडै ढल्छ। आउनुहोस्, हाम्रा पिता परमेश्वरबाट हामीले पाएको प्रतिज्ञालाई हेरौँ।
यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्यौ भने यी सबै आशिष्हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्: याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ। याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्नबाली, तिमीहरूका बथान र बगालका बच्चाहरूमा आशिष् दिनुहुनेछ। तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ। तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ। तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्। याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ। तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ। याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्यौ भने तिमीहरू सधैँ उच्चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।( व्यवस्था 28:2,3,4,5,6,7,8,11,12,13 )
परमेश्वर र उहाँका आज्ञाहरूको पूर्ण पालना गर्दै यो जीवन जिउनु हाम्रो स्वभाव होइन। हाम्रो जीवन समस्याबाट मुक्त हुनेबित्तिकै हामी फेरि-फेरि आफ्नै दुष्ट मार्गमा लाग्छौँ…
मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ।( यर्मिया 35:15 )
हामी आफूलाई डर र विश्वासको कमीमा पाउँछौँ। हजारौँ वर्षदेखि पुस्तौँपुस्तासम्म मानिसहरूले परमेश्वरको अनाज्ञाकारिता गर्दै उहाँका आशिषहरू गुमाउँदै आए। हामीले परमेश्वरका आज्ञाहरूको जगबाट प्रेमलाई झारेर फ्याँक्यौँ, र देखावटी तथा औपचारिक पालना मात्र भएका सुक्खा वाक्यहरू बाँकी राख्यौँ। यी सबैले हामीलाई ठीक प्रतिज्ञा गरिएझैँ डरको ठाउँमा पुर्यायो…
तिमीहरूले याहवेहलाई त्यागेर दुष्ट काम गरेका हुनाले तिमीहरू नष्ट नभएसम्म; र चाँडै बरबाद नभएसम्म उहाँले तिमीहरूका हातका हरेक काममा श्राप, गोलमाल र निराशा पठाउनुहुनेछ। तिमीहरू नष्ट नभएसम्म याहवेहले तिमीहरूमाथि यस्ता रोगहरूले प्रहार गर्नुहुनेछः जरो, सुनिने रोग, प्रचण्ड ताप, खडेरी, वृक्ष ओइल्याउने र ढुसी पर्ने रोग।( व्यवस्था 28:20,22 )
परमेश्वरको क्रोध साँच्चै भयानक छ। तर हाम्रा स्वर्गीय पितालाई यस्ता कठोर काम गरेकोमा दोष लगाउन हतार गर्नुअघि, एक जना मानिसलाई मर्नबाट बचाउन संक्रमित खुट्टा काटिरहेका डाक्टरको कल्पना गरौँ। देखिने कुराहरूमा ध्यान दिनु र हामीलाई बचाउने परमेश्वरको प्रेम र इच्छालाई बेवास्ता गर्नु हाम्रो लागि स्वाभाविक हो। हाम्रो बच्चाले हाम्रो रिस र ढाडमा लागेको दुख्ने थप्पड सम्झनेछ, तर त्यसले उसलाई खतरनाक भीरबाट खस्नबाट कसरी बचायो भन्ने कुरा सजिलै बिर्सनेछ। अनि पार्थिव कुराहरू मात्र देख्ने हामीले त परमेश्वरको क्रोधले हामीलाई केबाट बचाउँछ भन्ने पनि देख्दैनौँ।
परमेश्वर चाहनुहुन्छ कि हामी विश्वासयोग्य भएर उहाँको आज्ञा पालन गरौँ। उहाँ चाहनुहुन्छ कि हामीले देखेका कुराहरूदेखि नडराऔँ, बरु आफ्नो विश्वासबाट भरोसा प्राप्त गरौँ।
यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।( 2 कोरिन्थी 4:18 )
तपाईंको ज्यान जोखिममा होस् वा तपाईं पूर्ण स्वस्थ हुनुहोस्, मृत्युलाई हामीमाथि आइपर्न सक्ने सबैभन्दा नराम्रो कुरा मानिन्छ। तर के यो साँच्चै त्यस्तो हो? मृत्यु भनेको हामीले कुनै मानिसको देख्ने अन्तिम कुरा हो। मृत्युले हाम्रो लागि अदृश्यतर्फ, अज्ञाततर्फको ढोका खोल्छ।
हाम्रो जीवनमा, वा त्यसपछि, रहेको अज्ञातलाई हाम्रो डरले वा हाम्रो विश्वासले नियन्त्रण गर्छ। हामी आफूलाई डरको अन्धकारले वा विश्वासको ज्योतिले घेर्न सक्छौँ। यस पार्थिव जीवनमा हामीले देखेझैँ, विश्वासी मानिसहरू आफ्ना काममा सफल हुन्छन्। अनि विश्वास गर्नेहरूका लागि मृत्युपछिको मार्ग विश्वासले उज्यालो पार्नेछ भन्नेमा शङ्का गर्ने कुनै कारण छैन। यहाँ पृथ्वीमाको भन्दा धेरै उत्तम जीवनतर्फको मार्ग।
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।( यूहन्ना 3:16 )
अहिले हामी जीवित छौँ। अहिले हामीले जिइरहेको हरेक मिनेटका लागि, देख्न र सास फेर्न सक्ने क्षमताका लागि, र यस संसारमा परिवर्तन ल्याउन सक्ने अवसरका लागि हामी हाम्रा परमेश्वरप्रति कृतज्ञ छौँ। हामी अझै पनि आफ्ना प्रियजनहरूलाई देख्न सक्छौँ र उनीहरू हाम्रा लागि कति महत्त्वपूर्ण छन् भनी भन्न सक्छौँ।
प्रेमले डरलाई जित्छ र हामी वास्तवमा को हौँ भन्ने प्रकट गर्छ—परमेश्वरको स्वरूपमा सृष्टि गरिएका। अनि शारीरिक मृत्यु र पुनरुत्थान भएर येशू ख्रीष्टले मृत्युका साङ्लाहरू तोड्नुभयो र हामीलाई पवित्र आत्मा दिनुभयो, जो एक अदृश्य सहायक हुनुहुन्छ र अब हामीभित्र वास गर्न सक्नुहुन्छ।
उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, र चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ। किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ।( यूहन्ना 14:17 )
हामीले पाएको आत्मा डरको आत्मा होइन, किनकि उहाँले हामीलाई अनन्त जीवनतर्फ डोर्याउनुहुन्छ।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।( 2 तिमोथी 1:7 )
यसबाट हामी देख्न सक्छौँ कि यदि हामी डर महसुस गर्छौँ भने, त्यो परमेश्वरले हामीलाई दिनुभएको आत्माबाट होइन। यदि हामी डरको अन्धकारमा हिँड्छौँ भने, हामीले परमप्रभु हाम्रा परमेश्वरमाथिको विश्वासको ज्योति ल्याएका छैनौँ।
फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”( यूहन्ना 8:12 )
अब महामारीको केन्द्रमा उभिएर, तपाईं के रोज्नुहुन्छ—डर कि विश्वास? यस डरलाग्दो संसारको अन्धकारमा अरूले तपाईंलाई हेर्दा, के उनीहरूले तपाईंको ज्योति देख्न सक्छन्?
निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुनेछ। उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ; र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ; उहाँको विश्वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ। तिमी रातको त्रासदेखि डराउनेछैनौ, न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ, न अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ। तिम्रो नजिक एक हजार जना ढल्नेछन्, तिम्रो दाहिने हाततिर दश हजार; तर त्यो तिम्रो नजिक आउनेछैन।( भजनसंग्रह 91:3-7 )
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।”( यहोशू 1:9 )
हाम्रो संसारमा कुनै पनि कुरा बिनाकारण हुँदैन। अनि यो महामारीले हामीलाई के सिकाउला? के हामी साँच्चै मानव जीवनको मूल्य बुझ्न सक्षम हुनेछौँ? के हामी साँचो मित्रताको कदर गर्न र हामीसँग भएको कुराका लागि कृतज्ञता व्यक्त गर्न सक्षम हुनेछौँ? के यसले इन्स्टाग्राममा अझ राम्रो तस्बिर र हाम्रा युट्युब भिडियोहरूमा अझ धेरै सब्स्क्राइबरका लागि गरिने अर्थहीन दौडको अन्त्य गर्ला? के यसले पैसा र शक्तिका लागि हुने युद्धहरूको अन्त्य गर्ला? के यसले आउने पुस्ताहरूका लागि आकाशलाई फेरि नीलो बनाउला? के हामी अन्ततः आफ्नो आँखाबाट पर्दा हटाएर हाम्रा पिताले सृष्टि गर्नुभएको वास्तविक संसार देख्न सक्षम हुनेछौँ?
शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।( यूहन्ना 14:27 )