मुख्य सामग्रीमा जानुहोस्

के येशू नै मसीह हुनुहुन्छ?

Jesus sculpture

हामी येशूको बारेमा र उहाँले हाम्रा निम्ति क्रूसमा मरेर हामीलाई बचाउनुभयो भन्ने कुराको बारेमा प्रायः सुन्छौँ। अनि जसले उहाँमाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ।

हाम्रो जीवनको उद्धार गर्नु - यही नै प्रतीक्षित मसीहको भूमिका हो... तर के येशू नै साँचो मसीह हुनुहुन्छ, कि हामीले अरू कसैको प्रतीक्षा गर्नुपर्छ?

चुनिएका व्यक्ति, अर्थात् हामी सबैलाई उद्धार गर्नुहुनेको बारेमा अधिकांश जानकारी हामी यशैया अगमवक्ताको पुस्तकबाट पाउँछौँ, जो लगभग ईसापूर्व आठौँ शताब्दीमा जीवित थिए र अगमवाणी गरे। मोटामोटी रूपमा यो येशू जन्मनुभन्दा ७०० वर्ष अघिको कुरा हो।

यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ। याहवेहका आत्मा उहाँमा रहनुहुनेछ; बुद्धि र समझका आत्मा, सल्‍लाह र शक्तिका आत्मा, ज्ञान र याहवेहको भयको आत्मा, र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ। उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन, अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन; तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ; पृथ्वीका गरिबहरूका निम्ति न्यायसित उहाँले निर्णय दिनुहुनेछ। उहाँले पृथ्वीलाई आफ्नो मुखको वचनले प्रहार गर्नुहुनेछ; आफ्ना ओठको सासले उहाँले दुष्‍टलाई मार्नुहुनेछ। धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ; अनि विश्‍वासयोग्यता उहाँको पटुका हुनेछ।
( यशैया 11:1-5 )

हामी मसीह दाऊद राजाका सन्तान हुनुहुनेछ भनी अपेक्षा गर्छौँ…

“हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु, मैले चुनेको जन, जसमा म प्रसन्‍न छु; म तिनमा मेरो आत्मा हाल्नेछु, र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्। तिनी चिच्याउने वा जोरले कराउने छैनन्, न त आफ्नो सोर सडकतिर सुनाउनेछन्। फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। तिनले विश्‍वासयोग्यतामा न्याय गर्नेछन्; जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्; तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्। तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।” याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: जसले आकाशहरू सृष्‍टि गरेर तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो, जसले यसका मानिसहरूलाई सास र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ: “म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, म तेरो हात पक्रनेछु। म तेरो रक्षा गर्नेछु; अनि तँलाई जाति-जातिहरूका निम्ति करार र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु; तब तैँले अन्धाहरूका आँखा खोल्न, कैदीहरूलाई कैदबाट छुटकारा दिन र अन्धकारको खाडलमा बस्‍नेहरूलाई निकाल्न सक्नेछस्।
( यशैया 42:1-7 )

यहाँ हामी देख्छौँ कि ती “सेवक” नम्र हुनुहुनेछ, सार्वजनिक रूपमा आफ्नो आवाज उठाउनुहुनेछैन, अन्धाहरूका आँखा खोलिदिनुहुनेछ…

यशैयाले आफ्नो पुस्तकमा उहाँको बारेमा अरू के भन्छन्? अरू मानिसहरूले मसीहसँग कस्तो व्यवहार गर्नेछन्? उहाँलाई के भयो र हाम्रा निम्ति त्यसको अर्थ के हो? यसको जवाफ दिन यशैया सिधै भविष्यमा पुग्छन् र हामीले पहिल्यै इन्कार गरिसकेका मसीहको बारेमा हामीसँग सिधै कुरा गर्छन्।

कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन। मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्‍टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ। निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्‍टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ। तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो; अनि उसका चोटहरूले हामी निको भयौँ। हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ। उसलाई सताइयो र उसलाई कष्‍ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन। अत्याचार र न्यायद्वारा भएर ऊ लगियो। अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ? किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो; र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो। उसको चिहान दुष्‍टहरूसित बनाइयो, तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; किनकि उसले कुनै अत्याचार गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो। तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्‍ट दिन इच्छा लाग्यो; याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्; अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ। उसको प्राणको कष्‍टपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्‍ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ; अनि उसले तिनीहरूका अधर्म बोक्नेछ। यसकारण म उसलाई महान्‌हरूसित एउटा भाग दिनेछु; अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ; किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ; ऊ अधर्मीहरूसित गनियो। किनकि उसले चाहिँ धेरैको पाप बोक्यो, र अपराधीहरूका निम्ति बिन्ती गर्‍यो।
( यशैया 53:1-12 )

हामी देख्छौँ कि इन्कार गरिएका र तुच्छ ठानिएका मसीह मारिने थुमाझैँ हाम्रा पापका निम्ति मर्नुभयो। उहाँ सन्तानविना मर्नुभयो, तैपनि उहाँ “दीर्घायु हुनुहुनेछ” र “उहाँका धेरै सन्तान हुनेछन्”। यसको सम्भवतः अर्थ हो कि मसीह आफ्नो मृत्युपछि पृथ्वीमा वा स्वर्गमा पुनर्जीवित हुनुहुनेछ, र उहाँका शारीरिक वा आत्मिक सन्तान हुनेछन्।

अब आफ्नै निम्ति एउटा अभ्यासको रूपमा, र येशू नै प्रतीक्षित मसीह हुनुहुन्छ कि हुनुहुन्न भनी निर्णय गर्न, आफ्नो जीवनको ठूलो भाग येशूसँगै प्रत्यक्ष बिताउने मत्ती, मर्कूस र यूहन्नाले, अनि नासरतका येशू ख्रीष्टको जीवनको बारेमा तथ्यहरू ध्यानपूर्वक सङ्कलन गर्ने वैद्य लूकाले येशू ख्रीष्टको बारेमा दिएका गवाहीहरू पढ्नुहोस्…